काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली मौलिकता, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न काठमाडौं फिल्म फेस्टिबल महत्वपूर्ण माध्यम बन्न सक्ने बताएकी छन्।
शुक्रबार फेस्टिबलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डंगोलले नेपाली भाषा, साहित्य, खानपान र पोसाकको पहिचान विश्वमाझ पुर्याउन फिल्म प्रभावकारी माध्यम भएको बताइन्।
उनले काठमाडौंका मठमन्दिर, रानीपोखरीलगायत ऐतिहासिक सम्पदा र स्थानसँग जोडिएका कथालाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउनुपर्नेमा जोड दिइन्। काठमाडौं मात्र नभई देशभरका कथा बोकेका चलचित्रलाई फेस्टिबलमा स्थान दिइने उनको भनाइ थियो।
“हाम्रो भाषा, हाम्रो साहित्य सबै कुराको प्रवर्द्धन गर्ने एउटा सशक्त माध्यम हो फिल्म,” डंगोलले भनिन्।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत आगामी कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिबल आयोजना गर्ने भएको छ। फेस्टिबलमार्फत नेपाली मौलिकता, संस्कृति र ओझेलमा परेका कथालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महानगरको लक्ष्य छ।