धनुषा। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन्।
बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रका समस्या खोज तथा अनुसन्धानमार्फत पहिचान गर्न विश्वविद्यालयलाई आग्रह गरे।
विश्वविद्यालय पढ्ने–पढाउने कार्यमा मात्र सीमित हुन नहुने बताउँदै उनले सम्बन्धित क्षेत्रका समस्या पहिचान गरी अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए। मधेसमा शिक्षाको गुणस्तर सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनको भनाइ थियो।
‘मधेस प्रदेशमा शिक्षा क्षेत्रमा रहेका समस्याहरूको खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेश गर्नको लागि म राजर्षी जनक विश्वविद्यालयलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने।
नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै मन्त्री पोखरेलले उपलब्ध स्रोत र क्षमताअनुसार सबै पक्षले काममा केन्द्रित हुनुपर्ने बताए। मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेशमै गुणस्तरीय शिक्षा र त्यसका सम्भावनाबारे काम गर्नुपर्नेमा उनले जोड दिए।
राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै थप मेहनत र सुधार आवश्यक रहेको पनि मन्त्री पोखरेलले बताए।