काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
मौसमविद् रोजन लामिछानेले अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहेकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन सुझाव दिए। ‘किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला।’ उनले भने।
उनका अनुसार पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि पश्चिमी क्षेत्रमा भोलिसम्म वर्षाको सम्भावना रहेकाले जोखिम कायमै छ। जमिन चिरा परेको वा पहिरो देखिएको क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्नसमेत विभागले आग्रह गरेको छ।
नदी तथा खोला किनारका बासिन्दालाई जलसतह बढ्दा सतर्क रहन, स्थानीय प्रशासनको माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न र मौसमसम्बन्धी सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।