काठमाडौँ – साताको कारोबारको दोस्रो दिन मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर २ हजार ६३३ दशमलव ६२ बिन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९ दशमलव १९ अङ्कले बढेर ४६७ दशमलव ४५ बिन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ३ दशमलव ५६ अङ्कले बढेर १८१ दशमलव १३ तथा सेन्सेटिभ फ्लोट परिसूचक ३ दशमलव १३ अङ्कले बढेर १५७ दशमलव ९१ मा पुगेको छ।
आज विभिन्न कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर कारोबार भएका छन्। उक्त सेयर रु ८ अर्ब २९ करोड १७ हजार ११५ बराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
कारोबार भएका सबै उपसमूहमा वृद्धि देखिएको छ। आज २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार धौलागिरि लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र मल्टिप्रपोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले लाभ कमाएका छन्। यस्तै एभरेस्ट बैंक, केबीएल डिबेञ्चर र बोटलर्स नेपाल बालाजुलगायतका लगानीकर्ताले भने गुमाएका छन्।