काठमाडौँ ।भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाइने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सम्मिलित टोलीलाई प्रभावित क्षेत्रमा खटाउन लागेको हो।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य टोलीले नियमित रूपमा सेवा दिइरहे पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवाको थप आवश्यकता देखिएपछि विशेषज्ञ टोली परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का रहेका छन्।
विशेषज्ञ चिकित्सकको टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता पहिचान गरी मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ।