काठमाडौँ। अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । चार खेल खेलेको अन्नपूर्णको यो तेस्रो जित हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णले पहिलो दुई सेट समान २५–१५ ले जित्दा तेस्रो सेटमा २९–२७ को रोमाञ्चक जित निकाल्यो ।
अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटले पराजित भएको अन्नपूर्ण त्यसयता लगातार जितको यात्रामा छ । उसले काठमाडौँ रेड्सलाई ३–० र मधेस वारियर्सलाई ३–१ सेटले हराएको थियो ।
खप्तड फाल्कन्सका लागि भने प्रतियोगिता निराशाजनक रह्यो । चारवटै खेलमा पराजित भएपछि खप्तड प्रतियोगिताबाट बाहिरिएको छ । खप्तडले पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रोमा कर्णाली शिवराज र तेस्रोमा मधेस वारियर्ससँग समान ३–० को सोझो सेटमा हार बेहोरेको थियो ।
नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा छ पुरुष टोली सहभागी छन् । सहभागी टोलीले सिङ्गल राउन्ड रोबिन लिग प्रणालीमा प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् ।
एनभीएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जुन नेपाली भलिबलको इतिहासमै हालसम्मकै सर्वाधिक हो । प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
नेपालमा पहिलोपटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको फाइनल खेल आगामी भदौ २७ गते हुनेछ ।