काठमाडौं। भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० मा आएको बाढीबाट प्रभावित उद्योगी–व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्दै कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले बाढीबाट क्षतिग्रस्त उद्योग–व्यवसायको बीमा दाबीसमेत झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन आग्रह गरेका छन्।
नुवाकोट उद्योग वाणिज्य संघका अनुसार बाढीबाट नुवाकोटमा मात्रै साना–ठूला गरी करिब १ हजार ८ सय उद्योग तथा व्यवसायमा क्षति पुगेको छ। अधिकांश व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन गरिएकाले बाढीपछि व्यवसायी थप आर्थिक संकटमा परेको उनीहरूको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँगको छलफलमा व्यवसायीहरूले तत्काल पुनरुत्थानका कार्यक्रम ल्याएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका हुन्। बाढीले क्रसर उद्योग, टिप्परलगायत खोलाछेउमा रहेका उद्योग तथा व्यवसायमा ठूलो क्षति पुर्याएको उनीहरूले बताए।
एक व्यवसायीले क्षतिग्रस्त उद्योगको बीमा दाबीका लागि आवश्यक कागजातसमेत बाढीले बगाएकाले प्रक्रिया सहज बनाउनुपर्ने बताए। ‘सरकारले त्यो ऋणको ब्याज मिनाहा गरिदिनुपर्यो,’ उनले भने, ‘बीमाको दाबी गरिएको रकम भुक्तानी भयो भने फेरि सर्भाइभ हुन सक्छौँ।’
अर्का व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्नुपर्ने बताए। बीमा दाबीको रकम पनि बिना झन्झट तत्काल उपलब्ध गराउन नेपाल राष्ट्र बैंकमार्फत पहल गर्न उनले आग्रह गरे। ‘संकटको समयमा सरकार र बैंकहरूले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ,’ उनले भने।
बाढीबाट व्यवसायसँगै व्यक्तिगत सम्पत्तिसमेत गुमाएका अर्का व्यवसायीले तत्काल पुनरुत्थान कार्यक्रम ल्याउन माग गरे। लामो समय विदेशमा काम गरेर कमाएको रकम स्वदेशमै व्यवसायमा लगानी गरेको बताउँदै उनले बाढीपछि व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताए।
छलफलमा ढकालले बाढी प्रभावित उद्योगी–व्यवसायीको समस्या समाधानका लागि महासंघले पहल गर्ने बताए। उनले तत्काल राहत तथा आधारभूत आवश्यकताको व्यवस्थापनपछि व्यवसाय पुनरुत्थानका विषयमा अघि बढ्नुपर्ने धारणा राखे।
ढकालले बाढीपीडित व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता जनाए। ग्लोबल आइएमई बैंकका तर्फबाट गर्न सकिने सहयोगबारे समेत आवश्यक निर्णयका लागि पहल गर्ने उनले बताए।