चितवन। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटक आगमन घटेसँगै होटल तथा रेष्टुरेन्ट व्यवसाय प्रभावित भएको छ । भोटेकोशी बाढी र सडक सञ्जालमा आएको अवरोधका कारण पर्यटकले धमाधम बुकिङ रद्द गरेपछि सौराहाका होटल सुनसान बनेका छन् ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको ७५ कोठाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार कुनै पनि कोठा भरिएका थिएनन् । यस समयमा होटलको बुकिङ करिब ६० प्रतिशत रहे पनि बाढीपहिरो र सडक अवरोधका कारण ती सबै रद्द भएको पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार भारतको गोरखपुरबाट सौराहा भ्रमणका लागि आउने तयारीमा रहेका १०० पर्यटकले समेत कार्यक्रम स्थगित गरेका छन् । पर्यटकले नेपालमा विपद्का घटना भइरहेका बेला भ्रमण गरेर रमाउन असहज हुने बताएका छन् । नेपालका सीमित क्षेत्रमा मात्रै बाढीपहिरोको प्रभाव रहेकाले अन्तर्राष्ट्रियस्तरमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको पाण्डेको भनाइ छ ।
गत वर्षको तुलनामा यस वर्ष पर्यटन व्यवसाय राम्रो हुने अपेक्षा गरिए पनि अहिले अवस्था प्रतिकूल बनेको व्यवसायीले बताएका छन् । होटल भिष्टाका सञ्चालक रमेश सिलवालले बाढीभन्दा पृथ्वी राजमार्गमा आएको अवरोधका कारण धेरै बुकिङ रद्द भएको बताउनुभयो । उहाँका अनुसार भोटेकोशी बाढीपछि केही बुकिङ रद्द भए पनि कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बाँकी बुकिङसमेत रद्द भएका हुन् ।
मुक्तिनाथ, पशुपतिनाथ र जनकपुरधामलगायत धार्मिकस्थल भ्रमणमा आउने भारतीय पर्यटकले यात्रा स्थगित गर्दा त्यसको प्रत्यक्ष असर सौराहामा परेको व्यवसायीको भनाइ छ ।
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार विभिन्न देशले नेपाललाई असुरक्षित गन्तव्यका रूपमा हेर्न थालेपछि विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । सेप्टेम्बरका सबैजसो बुकिङ रद्द भइसकेका छन् भने अक्टोबरका केही बुकिङ अवस्था सुधार भए कायम रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सौराहामा अहिले औसत पाँच प्रतिशत मात्रै पर्यटक रहेको अनुमान गरिएको छ । गत वर्ष यही समयमा २५ देखि ३० प्रतिशत पर्यटक रहने गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विदेशस्थित नेपाली दूतावासमार्फत नेपालका अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित रहेको सूचना प्रवाह गर्न सके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने व्यवसायीको भनाइ छ ।
सौराहाका केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरीले पनि होटल तथा रेष्टुरेन्ट सुनसान बनेको बताउनुभयो । भएका बुकिङसमेत रद्द भएकाले नोभेम्बरसम्मै व्यवसाय प्रभावित हुन सक्ने उहाँको अनुमान छ ।
भोटेकोशी बाढीमा विदेशी पर्यटकसमेत प्रभावित भएपछि अन्तर्राष्ट्रियस्तरमा नेपाल असुरक्षित रहेको सन्देश गएको व्यवसायीको गुनासो छ । सीमित भूभागमा मात्रै बाढीको प्रभाव रहेकाले देशका अन्य पर्यटकीय क्षेत्र सुरक्षित रहेको जानकारी विश्व समुदायसम्म पुर्याउनुपर्ने उनीहरूको माग छ ।
सौराहामा १२० भन्दा बढी होटल छन् । ती होटलमा एकैपटक पाँच हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता छ । काठमाडौँबाट दैनिक सञ्चालन हुने पर्यटक बससमेत पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएपछि रोकिएका छन् । हवाई भाडा महँगो हुनुका साथै उडानमा चाप रहेकाले पनि पर्यटकका लागि सौराहा पुग्न सहज नभएको व्यवसायी बताउँछन् ।
मुख्यतः चितवन राष्ट्रिय निकुञ्जको सफारीका लागि पर्यटक सौराहा आउने गर्छन् । त्यसबाहेक देशका विभिन्न स्थानबाट गोष्ठी, बैठक, सभा तथा सम्मेलनका लागि समेत सौराहा रोजिँदै आएको छ ।
नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिने सौराहा सफारी पर्यटनका दृष्टिले नेपालको पहिलो गन्तव्य मानिन्छ।