काठमाडौँ । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड पुनः अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गए राति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यसअघि कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा पहिरो खसेपछि भदौ २० गतेदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसोदेखि सञ्चालनमा आएको थियो । तर, दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेपछि राजमार्गमा यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट टोली घटनास्थलमा पुगेको छ । सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो पन्छाएर सकेसम्म छिटो यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगञ्ज तथा काठमाडौँतर्फ जाने यात्रुहरूलाई सास्ती भएको छ ।