भद्रपुर (झापा)। झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण तथा मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले अभियानका लागि आवश्यक खोप भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएकाले खोप अभियान पनि सोही स्थानीय तहबाट सुरु गरिने उहाँले बताए ।
उहाँका अनुसार प्रत्येक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसले स्वास्थ्यमा गम्भीर समस्या नपार्ने उहाँले बताए ।
खोप सेवा सहज र पहुँचयोग्य बनाउन जिल्लाका प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।