हेटौँडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई रु एक लाख आर्थिक सहयोग गरेको छ ।
महासङ्घले रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा बाढीमा बेपत्ता नुवाकोटका पत्रकार राजकुमार नेपालीका परिवारलाई सहयोग गरेको हो ।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पत्रकार तथा उनीहरूका परिवारसमेत प्रभावित भएका थिए । महासङ्घले प्रभावितको अवस्था मूल्याङ्कन गरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
बाढीमा पत्रकार निराजन पौडेलले बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्य गुमाउनुभएको छ । आफन्तको निधनपछि पौडेल हाल काठमाडौँको टोखामा किरियामा हुनुहुन्छ । उहाँ रातोपाटी अनलाइनमा कार्यरत पत्रकार तथा नेपाल पत्रकार महासङ्घ रसुवा शाखाका सदस्य हुनुहुन्छ । उहाँको स्थायी घर नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे रहेको महासङ्घले जनाएको छ ।
महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकार तथा परिवारलाई भेटेर सहयोग गरिएको हो ।
बाढीबाट पत्रकारका घरपरिवारमा क्षति पुग्नुका साथै उनीहरू कार्यरत सञ्चारमाध्यमसमेत प्रभावित भएका छन् । सडक तथा यातायात अवरुद्ध हुँदा समाचार सङ्कलनमा कठिनाइ भएको तथा विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या आएको महासङ्घले जनाएको छ । सञ्चार उपकरणमा समेत क्षति पुगेको बताइएको छ ।
अध्यक्ष मगरले विपद्का समयमा जोखिम मोलेर नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकारको सुरक्षा र सञ्चार सेवाको निरन्तरताका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । प्रभावित पत्रकारलाई आवश्यक उपकरण, राहत तथा पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले बेपत्ता पत्रकारको खोजी तथा प्रभावित पत्रकारको पुनःस्थापनामा महासङ्घले भूमिका खेलिरहेको जानकारी दिनुभयो ।
महासङ्घले प्रभावित पत्रकारलाई थप सहयोग गर्न अपिल गरेको छ । साथै रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा फसेकाको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।