काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा माल्दिभ्सका विदेशमन्त्री एडमले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाइन् । उनले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति समवेदना तथा समर्थन व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जवाफमा परराष्ट्रमन्त्री खनालले विपद्का बेला नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरे ।
टेलिफोन वार्तामा दुवै देशले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती र त्यसको समाधानका उपायबारे समेत छलफल गरेका थिए ।
उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धनका लागि थप समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।