ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान मैवाखोला पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो ।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार दुर्घटनामा ट्याक्टर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बो बेपत्ता भएका छन् । उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको छ ।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र खोजी तथा घटनासम्बन्धी आवश्यक समन्वयका लागि कम्पनीका सञ्चालक प्रकाश नाल्बेसँग सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्छ ।