काठमाडौं । विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङका प्रभावित बासिन्दा तहसनहस भएको जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन संघर्ष गरिरहेका छन्। बाढीपहिरोले क्षतिग्रस्त आधारभूत सेवा तथा भौतिक संरचना पुनः सञ्चालनमा ल्याउने प्रयास जारी छ।
चीनसँगको सीमाक्षेत्रमा हिमनदी खसेपछि आएको बाढीले घर, पुल तथा सीमावर्ती बस्तीमा ठूलो क्षति पुर्याएको थियो। त्रिशूली क्षेत्रमा मात्रै पानी, ढुंगा र गेग्रानसहित आएको भीषण बाढीले करिब तीन सय घरमा क्षति पुगेको छ। आफन्त गुमाएका परिवार शोकमा छन् भने केही स्थानीय अझै सम्पर्कविहीन छन्।
बाढीबाट ज्यान जोगाएकाहरूले घरका सामान, नगद तथा लत्ताकपडासमेत गुमाएका छन्। कतिपय पसल सञ्चालकले केही मिनेटमै वर्षौंको कमाइ र पसलमा रहेका सम्पूर्ण सामान बाढीले बगाएको पीडा भोग्नुपरेको चिनियाँ समाचार संस्था सीसीटीभीप्लसले जनाएको छ।
विपद्का कारण विद्यालय गएका बालबालिका घर फर्कन सकेका छैनन्। कतिपय परिवार औषधि तथा खाद्यान्नको पहुँचबाट समेत वञ्चित छन् भने इन्धन आपूर्तिमा पनि समस्या देखिएको छ।
बाढीले त्रिशूली नदीमाथिका पुलहरू बगाएपछि नदी वारिपारिका बस्तीबीचको सम्पर्क विच्छेद भएको छ। छुट्टिएका गाउँलाई पुनः जोड्न अहिले त्रिशूली नदीमाथि जिपलाइन निर्माण गरिएको छ। जिपलाइन सञ्चालनमा आएपछि स्थानीयको आवतजावत केही सहज भएको छ।
स्थानीय मैसिङ तामाङले जिपलाइन निर्माणपछि अवस्था सुधार हुने आशा व्यक्त गरे। उनले भने, ‘यसले अवस्था केही राम्रो बनाउनेछ भन्ने हामी सबैको आशा छ।’
अर्की स्थानीयवासी सूर्यकुमारी तामाङले जिपलाइनबाट तत्काल राहत मिलेको बताइन्। उनले भनिन्, ‘हामीले लामो समय पर्खनुपर्छ, तर यसले धेरै सहयोग पुगेको छ।’
स्थानीय सुमन सिंहले पनि जिपलाइन सञ्चालनमा आएपछि गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरेका छन्।
यता, उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेनाले अस्थायी पुल निर्माण गरी अवरुद्ध आवतजावत पुनः सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिएको छ। विद्युत् सेवा तथा टेलिफोन सम्पर्क पुनःस्थापित गर्न प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।
यद्यपि, बाढीपहिरोबाट ठूलो मात्रामा भौतिक संरचना र निजी सम्पत्ति नष्ट भएकाले पूर्ण पुनर्निर्माण तत्काल सम्भव देखिँदैन। अहिलेका लागि प्रभावित नागरिकको जनजीवनलाई सकेसम्म छिटो सामान्य अवस्थामा फर्काउनु र आधारभूत सेवा पुनः सञ्चालन गर्नु नै मुख्य चुनौती बनेको छ।