काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति काठमाडौं उपत्यकावासीले ऐक्यबद्धता जनाउँदै राज्यको ध्यानाकर्षण गराएका छन् ।
नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो तथा हिमताल विस्फोटपछि आएको बाढीबाट प्रभावितप्रति दुःख व्यक्त गर्दै उपत्यकावासीले आइतबार बिहान काठमाडौंमा सामूहिक ऐक्यबद्धता र्याली निकालेका हुन् । र्यालीमार्फत विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजीलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरिएको छ । खोजी तथा उद्धारमा आवश्यक जनशक्ति, स्रोतसाधन र आधुनिक प्राविधिक तथा वैज्ञानिक विधिको अधिकतम प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचानमा जटिलता देखिएकाले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न नागरिक समूहले माग गरेका छन् । पहिचानका लागि डीएनए तथा अन्य जैविक नमुना सुरक्षित राख्न र परिवारका सदस्यबाट आवश्यक नमुना संकलन गरी प्रक्रिया अघि बढाउन आग्रह गर्दै पहिचानपछि शव परिवारलाई हस्तान्तरण गर्दा मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
नागरिक समूहले विपद्का बेला उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकप्रति सम्मान व्यक्त गरेको छ ।
प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । आवास र जीविकोपार्जन गुमाएकाको पुनःस्थापनासँगै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सञ्चार पूर्वाधार यथाशीघ्र पुनर्निर्माण गर्न माग गरिएको छ । पुनर्निर्माण गर्दा मानव सुरक्षा, वातावरणीय संवेदनशीलता र भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइएको छ ।
उपत्यकावासीले विपद्मा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै शोकलाई सहयोग र सामूहिक प्रतिबद्धतामा रूपान्तरण गर्ने बताएका छन् ।