काठमाडौं। शिक्षक संगठन निर्माणदेखि विभिन्न चरणमा भएका आन्दोलन र संघर्षको इतिहास समेटिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेखेको पुस्तक शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।
पुस्तकमा २००७ सालदेखि सुरु भएका शिक्षक संगठनको विकासक्रम, २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलनदेखि हालसम्मका गतिविधिलाई अभिलेखका रूपमा समेटिएको छ ।
सुवेदीले शिक्षक आन्दोलनको इतिहास व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेकाले पुराना पत्रपत्रिका, गोरखापत्र, संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरेर पुस्तक तयार पारेको बताए । उनले आन्दोलनसँग जोडिएका पुराना नेतासँग अन्तर्वार्ता लिएर पनि सामग्री संकलन गरेको जानकारी दिए ।
‘अहिलेसम्म दस्तावेजीकरण भएको रहेनछ,’ सुवेदीले भने । पुस्तकमा प्रमाणित तथ्यलाई मात्र प्राथमिकता दिएको र छुटेका विषय आधिकारिक रूपमा प्रमाणित भए आगामी संस्करणमा समेटिने उनले बताए ।
कार्यक्रममा पूर्वसचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई र डा. जानुका नेपाल पौडेलले सरकार शिक्षकप्रति उदार नदेखिएको बताए । शिक्षकसँग गरिएका सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको उनीहरूको आरोप थियो । सरकारी व्यवहारका कारण शिक्षण पेसाप्रति आकर्षण घट्दै गएको उनीहरूको भनाइ थियो ।