काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व, लोक परम्परा र संस्कृतिले समाजमा आपसी सद्भाव, एकता तथा सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली समाजमा प्रचलित सांस्कृतिक पर्व तथा लोक परम्पराले विविधताबीचको एकतालाई कायम राख्दै सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धता थप सुदृढ बनाएको उल्लेख गरेका हुन्।
उनले गौरा पर्वले परिवार तथा समाजलाई भावनात्मक रूपमा जोड्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्न, मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न र आध्यात्मिक आस्था एवं मानवीय जीवनमा सुख, शान्ति र समृद्धिको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
गौरा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस अवसरमा शिव र पार्वती (गौरा)को पूजाअर्चना गर्दै व्रत बस्ने परम्परा छ।
पर्वमा गहुँ, धान, केराउ, मास र गहतलगायत पाँच प्रकारका अन्नबाट तयार पारिएको ‘बिरुँडा’ गौरा देवीलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। यसले कृषि संस्कृति, मानवीय जीवन तथा पारिवारिक सुख–समृद्धिको कामना गर्ने सांस्कृतिक मान्यता बोकेको छ।
गौरा पर्वका अवसरमा स्थानीय समुदाय सामूहिक रूपमा भेला भएर देउडा, धमारीलगायतका लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्छन्। यस्ता गतिविधिले समुदायबीच आत्मीयता, भाइचारा र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।
राष्ट्रपति पौडेलले गौरा पर्वले बिछोडिएका जोडीको पुनर्मिलन गराउने, आपसी भाइचारा बढाउने तथा पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक विश्वास रहेको समेत उल्लेख गरेका छन्।