काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सहयोग घोषणा गरेका हुन्। उनका अनुसार भदौ ११ गते बसेको आकस्मिक कार्यसमिति बैठकले सहयोग संकलनका लागि आह्वान गरेको थियो। सोहीअनुसार रकम संकलन भइरहेको र छिट्टै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनले बताए।
डाँगीका अनुसार भोटेकोशी बाढीबाट सञ्चालनमा रहेका आठ र निर्माणाधीन पाँच गरी १३ जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण ४३० मेगावाट विद्युत् क्षमता राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको उनले बताए।
‘भोटेकोशी बाढी केवल एउटा प्राकृतिक विपत्ति मात्र होइन, हाम्रो विकास पूर्वाधार, अर्थतन्त्र र हजारौँ परिवारको जीवनमाथि आएको एउटा असह्य महाविपत्ति हो,’ डाँगीले भने।
उनले आयोजना संरचना र लगानीको क्षतिभन्दा दक्ष इन्जिनियर, प्राविधिक तथा कामदार गुमाउनु ऊर्जा क्षेत्रका लागि ठूलो पीडा भएको बताए। बाढीले रसुवादेखि त्रिशूलीसम्मका बस्ती, सडक, विद्युत् संरचना, खानेपानी प्रणालीलगायत आधारभूत पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको उनको भनाइ थियो।
इप्पानले सहयोग वास्तविक पीडितसम्म पारदर्शी र शीघ्र रूपमा पुर्याउन आग्रह गरेको छ। डाँगीले राहत, उद्धार र पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार, सामाजिक संघसंस्था र नागरिकलाई सामूहिक रूपमा अघि बढ्न आह्वान गरे।
उनले रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको यथाशीघ्र उद्धार गर्नसमेत आग्रह गरे।