काठमाडौं। ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ।
नेपालका लघुवित्तका पिता डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित पुरस्कार फाउन्डेसनले उनको ११औँ वार्षिक पुण्य स्मृति दिवसका अवसरमा भदौ २१ गते आइतबार ज्ञवालीलाई प्रदान गर्ने जनाएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।
फाउन्डेसनका अनुसार आर्थिक पत्रकारितामार्फत आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा योगदान पुर्याउँदै आएका पत्रकार तथा सञ्चार संस्थामध्येबाट ज्ञवालीलाई यस वर्षका लागि छनोट गरिएको हो। उनी दुई दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय छन्।
आर्थिक विकास र गरिबी न्यूनीकरणमा डा. पन्तले पुर्याएको योगदानको स्मरणमा फाउन्डेसनले २०७४ सालदेखि हरेक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजय राज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाल र यादव हुमागाईँलाई पुरस्कार प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
आर्थिक तथा समग्र विकासमा पत्रकारिता क्षेत्रबाट योगदान पुर्याउने पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।