काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको किनमेलबाट १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोजको दोस्रो पाक्षिकको बम्पर उपहार तामाङले जितेकी हुन्।
दशैंका लागि नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरालाले कम्प्युटर प्रणालीमार्फत विजेता घोषणा गरेका थिए। त्यसपछि उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको बम्पर उपहार जितेको जानकारी गराएका थिए। सुरुमा आफूलाई कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारद्वयले सरकारी कार्यक्रमअन्तर्गत पुरस्कार परेको भन्दै आश्वस्त पारेका थिए।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रणालीमा प्रविष्ट गर्ने २ लाख ७५ हजार ८८४ र क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० गरी कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार कार्यक्रममा सहभागी भएका थिए।
विभागले उक्त अवधिका प्रत्येक दिन एक जनाका दरले १६ जना दैनिक विजेतालाई पनि छनोट गरेको छ। उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। कर कट्टीपछि उनीहरूको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिल लिने बानी विकास गर्न कार्यक्रम सञ्चालन गरिएको बताए।
बम्पर विजेता तामाङसहित सबै विजेताले पुरस्कार दाबी गर्न आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ।