काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवामा बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) तयार गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताएका हुन् । उनले राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन–कानुनको सीमाभित्र रहेर तीन दिनभित्र पुनर्निर्माणको कार्यढाँचा तयार गर्न निर्देशन दिए ।
नयाँ संरचना निर्माण गर्न समय लाग्ने भएकाले तत्कालका लागि विद्यमान कानुनी व्यवस्थालाई आधार बनाएर विगतको पुनर्निर्माण प्राधिकरणजस्तै प्रभावकारी र अधिकारसम्पन्न संयन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
विपद्का बेला प्रमुख जिल्ला अधिकारीको कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्वतः सक्रिय हुनुपर्ने भए पनि अपेक्षाअनुसार हुन नसकेको भन्दै मन्त्री लम्सालले त्यसको कारण पहिल्याउनुपर्ने बताए ।
उनले विगतमा भएका कमजोरीको सूक्ष्म अध्ययन गरी कहाँ र किन कमजोरी भयो भन्ने पहिचान गर्न तथा आवश्यक कानुनी सुधारका लागि योजना आयोगले खाका तयार गर्नुपर्ने बताए ।
भविष्यमा जुनसुकै विपद् आए पनि राज्यका संयन्त्रहरू कसैको निर्देशन पर्खिनु नपर्ने र स्वतः उद्धार, राहत तथा पुनःस्थापनामा परिचालित हुने व्यवस्था बनाउनुपर्नेमा उनले जोड दिए ।
पुनर्निर्माणका लागि आवश्यक विभिन्न कार्यदल गठन गरी तिनको कार्यक्षेत्र र जिम्मेवारीसमेत स्पष्ट रूपमा तोकिने मन्त्री लम्सालले जानकारी दिए । बैठकको बाँकी सत्रमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालको नेतृत्वमा कार्यदलको अन्तिम रूपरेखा तथा जिम्मेवारी बाँडफाँट टुंगो लगाइने बताइएको छ ।
यसअघि मन्त्रालयले गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको पुनर्निर्माणका लागि टेन्डर आह्वान गरिसकेको छ ।