काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारजन काठमाडौं आएका छन्। सम्पर्कविहीनको अवस्था अझै यकिन हुन नसक्दा त्रिवि शिक्षण अस्पतालमा उनीहरूको भीड बढेको छ।
सिन्धुपाल्चोककी निरुता तामाङका श्रीमान् आशिष तामाङ बाढीपछि पाँच दिनदेखि सम्पर्कविहीन छन्। दुई वर्षको छोरासहित काठमाडौं आएकी निरुता श्रीमान् कतै सुरक्षित स्थानमा पुगेर बाँचिरहेको आशामा खोजी गरिरहेकी छन्।
‘मेरो श्रीमान् आशिष तामाङ बाढीमा सम्पर्कविहीन हुनुभएको छ। कतै भेटिनुहुन्छ कि भनेर यहाँसम्म आएकी हुँ,’ उनले भनिन्। उनले जंगल तथा अन्य सुरक्षित स्थानमा फसेका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरिन्।
गोसाइँकुण्ड तीर्थयात्राका क्रममा बाढीमा परेका धादिङका यात्रुसमेत अझै सम्पर्कविहीन छन्। धादिङका गोपाल विश्वकर्माका अनुसार नीलकण्ठ नगरपालिका–९ र १२ लगायतका स्थानका २६–२७ जना यात्रु बससहित सम्पर्कविहीन भएका छन्।
बाढीको त्रासदीबीच बेत्रावती पुगेपछि बसमा रहेका एक यात्रुले पोखरामा रहेका साथीलाई फोन गरी बस बगिसकेको र आफूहरू पनि जोखिममा रहेको जानकारी दिएको विश्वकर्माले बताए।
‘बससहित अहिलेसम्म सम्पर्कमा हुनुहुन्न,’ उनले भने।
विश्वकर्माका अनुसार केही शव फेला परे पनि अझै धेरै यात्रुको अवस्था अज्ञात छ। सम्पर्कविहीन आफन्तको खोजीका लागि उनी काठमाडौं आएका हुन्।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको अवस्था बुझ्न तथा शव पहिचानका लागि परिवारजन शिक्षण अस्पताल पुगेका छन्। आफन्तको खोजीमा आएका परिवारको उपस्थितिले अस्पताल परिसरमा पीडा र अन्योलको अवस्था देखिएको छ।