काठमाडौं। नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका घर तथा भवनमा उद्धारका नाममा अनधिकृत रूपमा प्रवेश नगर्न चेतावनी दिएको छ। प्रहरीले आफ्नो उपस्थितिबिना त्यस्ता संरचनाभित्र खोज तथा तलासी नगर्न आग्रह गरेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार क्षतिग्रस्त घर तथा भवनभित्र प्रहरीको उपस्थितिमा मात्रै खोजी तथा तलासी गर्न पाइनेछ। विपद्को मौका छोपेर आपराधिक गतिविधि गर्ने व्यक्तिमाथि निगरानी बढाइएको भन्दै उनले त्यस्ता गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे।
‘प्रहरीको उपस्थितिमा मात्र घर तथा भवनभित्र खोज तलासी हुनेछ,’ काफ्लेले भने।
उनले विपद्का विषयमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथिसमेत प्रहरीले निगरानी गरिरहेको बताए। मिथ्या सूचना फैलाएको पाइए कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।
काफ्लेले राहत वितरणलाई पनि एकद्वार प्रणालीअनुसार सञ्चालन गर्न आग्रह गरे। स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत सामग्री वितरण गर्नुपर्ने उनले बताए।