काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आङदेम्बेले राहत वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरे । उनले नुवाकोटका तल्लो क्षेत्रहरूमा राहत केन्द्रित भए पनि रसुवाको माथिल्लो भेग अझै उपेक्षित रहेको बताए ।
राहत वितरणमा सीमित सामाजिक संस्थालाई मात्र परिचालन गरिएकोप्रति आपत्ति जनाउँदै उनले राज्यले पहिचान गरेका तथा स्थानीय प्रशासनले विश्वास गरेका अन्य विश्वसनीय संस्थालाई समेत जिम्मेवारी दिनुपर्ने बताए । एउटै संस्थामा निर्भर हुँदा राहत वितरणमा ढिलाइ हुने र पीडित थप समस्यामा पर्ने उनको भनाइ थियो ।
राहत सामग्री गोदाममै थुप्रिने वा बिग्रिने तर लक्षित वर्गसम्म नपुग्ने अवस्था आउन नदिन सरकार सचेत हुनुपर्ने उनले बताए । समयमै राहत नपुगे मानवीय क्षति बढ्न सक्ने चेतावनी दिँदै उनले भने, ‘मानिसले खान नपाएर ज्यान गुमाइसकेपछि राहत पुग्नुको कुनै अर्थ रहँदैन । त्यसैले अहिलेकै अवस्थामा प्रभावकारी ढंगले सामग्री पुर्याउनुपर्छ ।’
धुन्चेसम्म हेलिकप्टरबाट केही सामग्री पुगे पनि भौगोलिक रूपमा क्षतविक्षत भएका अन्य विकट स्थानमा सर्वसाधारणले राहत पाउन नसकेको आङदेम्बेले बताए । त्यहाँका जनप्रतिनिधि तथा स्थानीयले राहत नपुगेको गुनासो गरिरहेको उल्लेख गर्दै उनले स्थानीय प्रशासन र राज्य दुवैले विश्वसनीय ठानेका संस्थालाई तत्काल परिचालन गरी राहत वितरणलाई पारदर्शी र पहुँचयोग्य बनाउन माग गरे ।