काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आङ्देम्बेले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्थलगत रूपमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनी नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।
आङ्देम्बेले रसुवा र नुवाकोटमा छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट परिचालन गर्नुपर्ने, अवरुद्ध सडक खुलाउनुका साथै क्षतिग्रस्त पुलमा तत्काल बेलीब्रिज जडान गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, अवरुद्ध विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन, बेपत्ताको खोजी तथा बाढीले बगाएर ल्याएका शवको पहिचान र व्यवस्थापनलाई तीव्रता दिन पनि उनले आग्रह गरेका छन् ।
सुरक्षित स्थानमा उद्धार गरिएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउन यातायातको व्यवस्था गर्नुपर्ने तथा घाइते र ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिनुपर्ने उनको माग छ । नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन् ।
राहत तथा उद्धारमा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न, सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई सहजीकरण गर्न तथा सुरुङ, भग्नावशेषलगायत स्थानमा नागरिक फसेको सम्भावना रहे आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार टोली र विशेषज्ञको सहयोग लिनुपर्ने आङ्देम्बेको सुझाव छ ।
उनले त्रिशूलीलगायत नदी क्षेत्रमा आवतजावत सहज बनाउन तुइनको शीघ्र व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् ।
आङ्देम्बेले विपद्को कठिन अवस्थामा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।