काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्।
बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। तीमध्ये ११ वटा आयोजनामा कार्यरत कामदार तथा कर्मचारीहरू सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
रसुवामा ७३० जना सम्पर्कविहीन
बाढीबाट रसुवा जिल्लाका जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएका छन्। जिल्लाका ६ वटा आयोजनामा कार्यरत ७३० जना सम्पर्कविहीन रहेको तथ्यांक छ।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै ५७६ जनाको अवस्था अज्ञात छ।
त्यस्तै, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका ४२ जना, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाका ८ जना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाका ७ जना सम्पर्कविहीन छन्।
निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाका ४ जना पनि सम्पर्कबाहिर रहेका छन्।
नुवाकोटमा २०४ जना सम्पर्कविहीन
बाढीले नुवाकोटका जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्याएको छ। जिल्लाका ५ वटा आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन रहेको इप्पानको तथ्यांकमा उल्लेख छ।
निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा सबैभन्दा बढी १५८ जना सम्पर्कविहीन छन्।
यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाका ४२ जना, निर्माणाधीन मिडल त्रिशूली गंगाका २ जना तथा त्रिशूली जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजनाका एक–एक जना सम्पर्कमा आउन सकेका छैनन्।
२५४ जनाको उद्धार, थप उद्धारका लागि हेलिकप्टर आवश्यक
बाढी प्रभावित आयोजनामा फसेकाहरूको खोजी तथा उद्धार कार्य कठिन बनेको छ। हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनाबाट २५४ जनाको सकुशल उद्धार गरिएको छ।
बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा प्रभावित आयोजनासम्म स्थलमार्गबाट पुग्न कठिन भएको छ। विशेषगरी लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए र चिलिमे आयोजनामा फसेकाहरूको तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
उनीहरूको उद्धारका लागि तत्काल हेलिकप्टर परिचालन गर्नुपर्ने आवश्यकता रहेको इप्पानले जनाएको छ।
