जनकपुरधाम। पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन्।
नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता थियो। जनकपुरधामस्थित रेल्वे स्टेसनबाट सुरु भएको र्याली नगरका मुख्य सडक परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको थियो। सहभागीले कार्यालयको मूल ढोकाअघि धर्ना दिएका थिए।
प्रदर्शनमा बोल्दै संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरवा–चरवालाई मुक्त घोषणा गरे पनि आफूहरूको अवस्थामा अपेक्षित सुधार नआएको बताए।
संघर्ष समितिका प्रतिनिधिका अनुसार हरवा–चरवा प्रथा अन्त्य भएको घोषणा गरिए पनि अझै ठूलो संख्यामा मुक्त हरवा–चरवा भूमि, आवास र सामाजिक सुरक्षाबाट वञ्चित छन्। सरकारी घोषणाको प्रभावकारी कार्यान्वयन नहुँदा मुक्त हरवा–चरवा पुनः संकटमा परेको उनीहरूको भनाइ छ।
संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ। दोस्रो चरणअन्तर्गत बुधबार भदौ १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिने र प्रदेश सरकारलाई मागपत्र बुझाउने कार्यक्रम तय गरिएको समितिले जनाएको छ।
समितिले मुक्त हरवा–चरवाका समस्या तत्काल सम्बोधन गर्न प्रदेश सरकारमाथि दबाब दिने जनाएको छ।