काठमाडौं। आन्तरिक राजस्व विभागले करदातालाई उपलब्ध गराउने सेवा थप सहज र प्रभावकारी बनाउन ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षणमा ल्याएको छ। विभागले भदौ ९ गतेदेखि नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल भएर पूर्ण रूपमा सञ्चालनमा नआएसम्म साविकको करदाता पोर्टल पनि यथावत् चल्नेछ।
नयाँ पोर्टल ‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ र ‘माइक्रो सर्भिस आर्किटेक्चर’मा आधारित भएर विकास गरिएको विभागले जनाएको छ। यसमा करदाताले आफैं गर्न सक्ने सेवाको दायरा पनि बढाइएको छ।
अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाताले स्वयं रुजु गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, आय विवरण (डे–०४) अन्तर्गत अनुसूची १० मा करदाताले आफैं विवरण भर्नुपर्ने व्यवस्था हटाएर सम्बन्धित विवरण स्वतः आउने बनाइएको छ।
स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था पनि पोर्टलमा समावेश गरिएको छ। विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन्।
नयाँ पोर्टलमा करदाताले आफ्नो प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र ‘लग–इन’ गरेर आफैं डाउनलोड गर्न सक्ने सुविधा राखिएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) विवरण संशोधनसम्बन्धी सेवा पनि पोर्टलमै उपलब्ध गराइएको छ।
परीक्षण चरणमा रहेकाले पोर्टल प्रयोग गर्दा सामान्य प्राविधिक समस्या आउन सक्ने विभागले जनाएको छ। भुसालले करदाताको सुविधालाई ध्यानमा राखेर पोर्टललाई थप सरल बनाउँदै आवश्यक नयाँ सुविधा पहिचान गरी क्रमशः सुधार गरिने बताए।