काठमाडौं। श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक समस्या समाधान गर्नभन्दा चिठ्ठा खेलाउनमा व्यस्त रहेको टिप्पणी गरेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सङ्ग्रौलाले चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको बताइन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीले कर्जा लिएर लगानी गर्न नचाहनुले सरकारको आर्थिक नीतिप्रति अविश्वास देखिएको उनको भनाइ थियो।
‘उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो,’ सङ्ग्रौलाले भनिन्।
उनले सरकार गठनपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै त्यसको समस्या समाधानमा अर्थमन्त्रीले ध्यान नदिएको आरोप लगाइन्। ‘तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाँही चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भनिन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसक्नुको कारण सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने भन्दै सङ्ग्रौलाले अर्थतन्त्रका समस्या समाधान नगरी मुलुकको विकास सम्भव नहुने बताइन्।