काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन भएको छ ।
‘न्याय नपाएसम्म आवाज रोकिँदैन’, ‘म पनि छोरी, खै त सुरक्षा ?’ र ‘प्रोटेक्ट चिल्ड्रेन नट क्रिमिनल्स’ लेखिएका प्लेकार्ड बोकेर महिला, आमा तथा युवा अधिकारकर्मी प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र बालिकाको परिवारलाई न्याय दिन माग गरेका छन् ।
गरिमा गत साउन ३१ गते आफ्नै घर–आँगनबाट बेपत्ता भएकी थिइन् । खोजीका क्रममा भदौ २ गते उनी छिमेकीको घरमा मृत फेला परेकी थिइन् । घटनाको विरोधमा प्रदर्शनकारीले बालबालिकाको सुरक्षा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका थिए ।
प्रदर्शनमा सहभागी महिलाहरूले बालिकामाथि हुने हिंसा रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनीहरूले पीडितलाई न्याय र दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म आवाज उठाइरहने बताएका छन् ।
‘हामी हाम्रा छोरीहरूलाई कुन मुखले घरबाहिर पठाउने ? जब राज्यले अपराधीलाई संरक्षण दिने र पीडितलाई नै प्रश्न गर्ने मानसिकता अन्त्य गर्दैन, तबसम्म हामी चुप लागेर बस्दैनौँ,’ प्रदर्शनमा सहभागी आमाहरूले भने ।
प्रदर्शनस्थलमा नेपाल प्रहरीको बाक्लो सुरक्षा उपस्थिति थियो । प्रदर्शनकारीले प्रहरीको उपस्थितिबीच सडकमा बसेर शान्तिपूर्ण धर्ना दिएका थिए ।