काठमाडौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाविरुद्ध आइतबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
पीडित परिवारलाई न्याय र घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै अभियन्ता तथा सर्वसाधारण प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनकारीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि सरकारले प्रभावकारी र कठोर कानुनी व्यवस्था गर्नुपर्ने माग गरे।
उनीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘जस्टिस फर गरिमा चौधरी’, ‘न्याय देऊ सरकार’ र ‘हत्यारालाई कडा कानुनी कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका थिए। साथै, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारको ध्यानाकर्षण गराए।
गरिमा गत साउन ३१ गते घरबाटै बेपत्ता भएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा भदौ २ गते उनी एक घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान तथा कडा कानुनी कारबाहीका लागि सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरिएको हो।