काठमाडौं। काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री ‘फेल्ट’मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ सुरु भएको छ। आयोजकका अनुसार यो नेपालमै पहिलो पूर्ण रूपमा फेल्टमा आधारित कला प्रदर्शनी हो।
फेल्ट एन्ड स्पेस र काठमाडौं विश्वविद्यालय (केयू)को क्राफ्ट एन्ड डिजाइन विभागका विद्यार्थीको सहकार्यमा सञ्चालित साढे दुईमहिने ‘फेल्ट फेलोसिप प्रोग्राम’को समापनसँगै प्रदर्शनी सुरु गरिएको हो। फेलोसिपमा सिकेका सीप र अनुभवलाई विद्यार्थीले कलाकृतिमार्फत प्रस्तुत गरेका छन्।
फेल्ट एन्ड स्पेसकी कृतिषा प्रजापतीले फेल्ट कलाको प्रवर्द्धन र कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइन्। ‘हाम्रा कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले पूर्ण रूपमा ऊनबाट बनेको यो कला प्रदर्शनी सुरु गरिएको हो,’ उनले भनिन्।
प्रदर्शनीमा फेल्टको परम्परागत प्रयोगलाई आधुनिक कलासँग जोडिएका सिर्जना राखिएका छन्। प्रदर्शनीसँगै नयाँ उत्पादनसमेत सार्वजनिक गरिएको छ। ती उत्पादनमार्फत नेपाली पहिचान र कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठका अनुसार फेल्ट फेलोसिपको परिकल्पना उपभोक्तावादी संस्कृतिभन्दा फरक पुनरुत्थानशील अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। विद्यार्थीले फेल्ट एन्ड स्पेससँगको सहकार्यमा सिकेको सीपलाई कलाका माध्यमबाट प्रस्तुत गरेका हुन्।
प्रदर्शनी अवलोकन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीले अध्ययनकै क्रममा व्यावसायिक गुणस्तरका कलाकृति निर्माण गर्नु सकारात्मक भएको बताइन्। महानगरको ‘एक वडा, एक नमुना उद्यमशीलता’ कार्यक्रमअन्तर्गत वडा नम्बर ३ र ४ मा फेल्टसम्बन्धी तालिम सञ्चालन भइरहेको जानकारी दिँदै उनले प्रशिक्षार्थीलाई यस्ता कलाकारसँग जोड्नुपर्ने बताइन्।
‘आधारभूत तालिमबाट बनेका सामग्री र कलात्मक चेत भएका कलाकारले बनाएका सामग्रीमा धेरै भिन्नता हुन्छ,’ डंगोलले भनिन्, ‘केयू स्कुल अफ आर्टले विद्यार्थीलाई यसरी व्यावसायिक उत्पादनसँग जोड्नु प्रशंसनीय छ।’
आयोजकका अनुसार ‘सुसम्झना’ एक महिनासम्म सर्वसाधारणका लागि खुला रहनेछ।