काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगी, उनकी श्रीमती लक्ष्मी बमडु, रितेन्द्र बडु र रिता बडुलाई काठमाडौंको छाउनीस्थित अस्पताल लगिएको हो। दुर्घटनामा लक्ष्मीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीसँगै सवार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडु र चालक छुनिलाल चौधरीको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय रजिष्ट्रार बडु, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी, २५ वर्षीय छोरा रितेन्द्र र ३१ वर्षीया रिता बडु घाइते भएका हुन्। चालक चौधरी पनि घाइते भएका छन्।
प्रहरीका अनुसार प्रदेश–३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ८ बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा भीमफेदी–६ को जुरिखेतमा दुर्घटनामा परेको थियो। अनियन्त्रित बनेको गाडी सडकबाट करिब ५० देखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि हेटौँडा ल्याएका थिए। त्यहाँ उपचारका क्रममा गम्भीर तथा थप उपचार आवश्यक देखिएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।