काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र क्यानडाबीचको त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्तिमार्फत १५ सदस्यीय टोली घोषणा गरेको हो।
एसीसी प्रिमियर कपमा सहभागी टोलीमा केही परिवर्तन गर्दै लिग–२ शृङ्खलाका लागि टोली छनोट गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरिएको छ। त्यस्तै, बाँयाहाते स्पिनर शाहब आलम पनि टोलीमा फर्किएका छन्।
ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामीले भने यसपटक पनि टोलीमा स्थान बनाउन सकेनन्। ओपनर अर्जुन कुमाल र आसिफ शेखले टोलीमा निरन्तरता पाएका छन्।
लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खला अक्टोबर ७ अर्थात् असोज २१ गतेदेखि ओमानमा सुरु हुनेछ। शृङ्खलामा नेपालसँगै आयोजक ओमान र क्यानडा सहभागी हुनेछन्।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।