काठमाडौं। प्रतिनिधिसभा सांसदहरूले अस्पतालको बिल तिर्न नसकेकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण बबिता कुमारी पासवानले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको बताएका हुन्।
कर्णका अनुसार राजविराज नगरपालिका–१४ परसाही टोलकी पासवान प्रसव पीडामा अस्पताल पुगेकी थिइन्। अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भने पनि उनीसँग २ हजार ५ सय रुपैयाँ मात्रै थियो। ७ सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिँदा उनले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको कर्णले बताए।
गरिब, विपन्न र निम्न आय भएका नागरिकका लागि उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमै आर्थिक अभावका कारण सुत्केरीले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु आपत्तिजनक भएको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
रास्वपाकी सांसद अंकिता ठाकुरले आर्थिक अवस्था कमजोर भएकै कारण नागरिक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरिन्। संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरिन्।
‘जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल अस्पताल रहँदैन, सौदाबाजीको पसल बन्छ,’ ठाकुरले भनिन्।