काठमाडौं -नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, सुर्खेत, बर्दिया, कैलाली, झापा, दाङ र डडेलधुराका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काठमाडौँको टेकुबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना तथा तिनथाना गैरीगाउँबाट ट्रामाडोलका ३० ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्। त्यस्तै, विराटनगर विमानस्थलबाट १८ ग्राम ४८ मिलिग्राम र हरूचोकबाट ६ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित क्रमशः एक र दुई जना पक्राउ परेका छन्।
सुर्खेतको चनौटेबाट ५ ग्राम ६ सय ९० मिलिग्राम, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक तथा कोठियाघाट–ओरालीबजारबाट विभिन्न परिमाणमा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्। कैलालीको मिलनचोकबाट २ सय ४० मिलिग्राम उक्त पदार्थसहित दुई जना तथा झापाको चाँदनी चोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र १२ हजार २२५ रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
त्यसैगरी, दाङको जुरौनीबाट ३५ किलोग्राम चरेससहित एक जना र डडेलधुराको स्याउलेबाट १ सय ६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।