काठमाडौँ । गुणस्तरीय शैक्षिक सामग्रीमा सहज पहुँच विस्तारका लागि नेपाल सरकारले ‘सिकाइ चौतारी’ नामक आधिकारिक डिजिटल सिकाइ प्लेटफर्मलाई सक्रिय बनाएको छ ।
विद्यालय तह (कक्षा १ देखि १२) सम्मका विद्यार्थी, शिक्षक र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकार भएका निकायलाई प्रविधिमैत्री सिकाइको अवसर उपलब्ध गराउन शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘सिकाइ चौतारी’ लाई वेबसाइट र एप्समार्फत अघि बढाइएको हो ।
गुणस्तरीय शिक्षा र तालिम अवसरहरू प्रदान गर्दै ‘सबैका लागि शिक्षा, जहाँ पनि जहिले पनि सिक्नुहोस्’ भन्ने उद्देश्यलाई यस यात्रामार्फत जोडिएको हो । यो पोर्टल शिक्षक, अभिभावक र विद्यार्थीका लागि साझा डिजिटल मञ्चका रूपमा विकसित हुँदैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट पारित नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीमा समेत समाविष्ट ‘सिकाइ चौतारी’ मा हालसम्म ४० हजार ४४९ प्रयोगकर्ता सहभागी भइसकेका छन् । तीमध्ये दुई हजार ७५४ विद्यार्थी, ३४ हजार २३१ शिक्षक र अन्य तीन हजार ४६४ छन् । यस पोर्टलमा हालसम्म कक्षा १ देखि १२ सम्मका ५८ पाठ्यक्रम राखिएका छन् ।
सरकारको १०० बुँदे सुधारको सूचकमा समेत समावेश रहेको ‘सिकाइ चौतारी’ ले डिजिटल माध्यमबाट सिकाइ सामग्रीमा पहुँच पुर्याउने, विषय विज्ञसँग जोडिने तथा नवीन ज्ञानको खोज र विस्तार गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, पहुँचयोग्य र आधुनिक बनाउने सरकारी प्रयासका रूपमा यसलाई अघि बढाइएको हो ।
केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता महेन्द्र पराजुलीले उक्त प्लेटफर्म अहिले सहरी क्षेत्रका शिक्षकले बढी प्रयोग गरिरहेका बताउँदै शीघ्र ‘सिकाइ चौतारी’लाई दूरदराजका शिक्षकका साथै विद्यार्थीहरूलाई केन्द्रित गरेर यसको क्षमता र पहुँच विस्तार गर्ने बताए ।
उनले विगतदेखिकै निरन्तर कार्यक्रमका रूपमा सिकाइ चौतारी रहेकाले चालु आर्थिक वर्षमा यसलाई सुदृढीकरणका लागि बजेटको आवश्यक प्रबन्ध गरिएको जनाउँदै विद्यार्थीमैत्री सामग्री उत्पादनमा थप जोड दिइने उल्लेख गरे । उनले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सामग्री विकास गरेर राष्ट्रिय परीक्षा बोर्डको सहकार्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण गर्दा नतिजामा सुधार आएकाले यस्ता कार्यलाई निरन्तरता दिइने जानकारी दिए ।
यसमा पाठ्यक्रमका आधारमा श्रव्य दृश्य र रेखाचित्रसहित आकर्षक शैलीमा स्रोत सामग्री राखिएका छन् । यसमा स्वनिर्देशित सिकाइ सामग्री, शिक्षा पोर्टल कार्यक्रम, विद्यालय पूर्वाधार डिजाइन तथा श्रव्य दृश्य, साङ्केतिक भाषा स्रोत, नवप्रतिभा विज्ञान परिचय तथा योग अभ्यास, नेपाली बालसङ्ग्रह, गीत सङ्ग्रह, श्रव्य शिक्षा सामग्री, आइसिटी सामग्री, एसइई परीक्षा, अनौपचारिक तथा आजीवन सिकाइ कार्यक्रम, समाचार मञ्च, अङ्ग्रेजी तथा नेपाली कथा, शब्दावलीलगायत विषय राखिएका उपमहानिर्देशक पराजुलीले जानकारी दिए ।
‘सिकाइ चौतारी’ मार्फत विद्यार्थी तथा शिक्षकले विभिन्न विषयसँग सम्बन्धित गुणस्तरीय शैक्षिक सामग्री डिजिटल रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । परम्परागत कक्षा कोठामा सीमित सिकाइलाई डिजिटल माध्यमबाट विस्तार गर्दै भौगोलिक तथा अन्य कारणले सहज रूपमा शैक्षिक स्रोतमा पहुँच नपुगेका विद्यार्थी तथा शिक्षकलाई सिकाइको अवसर उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
डिजिटल प्लेटफर्मले सिकाइलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विषय विज्ञ, स्रोत सामग्री तथा नयाँ ज्ञानसँग जोड्ने अवधारणालाई प्राथमिकता दिएको छ । यसबाट प्रयोगकर्ताले आफूलाई आवश्यक विषयमा थप जानकारी हासिल गर्न साथै सिकाइ प्रक्रियालाई रुचि र आवश्यकताअनुसार अघि बढाउन सक्ने अपेक्षा गरिएको छ ।
सरकारले सार्वजनिक सेवाको डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा पनि प्रविधिको अधिकतम उपयोग गर्ने नीति अघि सारेको छ । सोही नीतिअनुसार ‘सिकाइ चौतारी’लाई डिजिटल शिक्षा प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । यसले विद्यालय तहदेखि शिक्षा क्षेत्रका विभिन्न पक्षमा डिजिटल स्रोतको प्रयोग बढाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा यस्ता डिजिटल प्लेटफर्मले शिक्षक र विद्यार्थीबीचको सिकाइ सम्बन्धलाई थप प्रभावकारी बनाउन सक्ने देखिन्छ । विशेष गरी नयाँ पुस्तालाई प्रविधिसँग जोड्दै ज्ञानको खोज, आदानप्रदान र विस्तारमा सहयोग पुर्याउने माध्यमका रूपमा ‘सिकाइ चौतारी’लाई उपयोग गर्न सकिने उपमहानिर्देशक पराजुलीले बताए ।
देशभरका शिक्षकलाई सिकाइ चौतारीको प्रयोगसम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरणसम्बन्धी अध्ययन शृङ्खला पनि तयार गरिएको छ । उक्त शृङ्खलाका केही पाठहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी तयार गरिएको छ । एआई तथा नयाँ प्रविधिको प्रयोगबाट स्वीकृत पाठ्यसामग्री तथा पाठ्यक्रमबमोजिम आगामी दिनमा सिकाइ चौतारीमा अन्तरक्रियात्मक शृङ्खला तथा शिक्षक तालिमसम्बन्धी सामग्रीहरू विकास गरिने उपमहानिर्देशक पराजुलीले उल्लेख गरे ।
हालै सम्पन्न शिक्षा तथा खेलकुद मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठकमा डिजिटल नेपाल निर्माणको अवधारणाअनुसार शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्दै लगेको सन्दर्भमा ‘सिकाइ चौतारी’ को विकासलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको थियो ।
गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच, विज्ञसँगको सम्बन्ध तथा नवीन ज्ञानको विस्तारलाई एउटै डिजिटल माध्यममा जोड्ने प्रयासले नेपालको शिक्षा प्रणालीलाई थप समावेशी, प्रविधिमैत्री र पहुँचयोग्य बनाउन योगदान पुर्याउने भएकाले यसलाई अभिवृद्धि गर्न बैठकमा जोड दिइएको थियो ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चालु आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्य संस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।