काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपाल सरकारको मातहतमा हालसम्म एउटा पनि सरकारी आँखा अस्पताल नरहेको बताएकी छन्। उनले कोशी अस्पतालबाट सरकारी आँखा अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री मेहताले कोशी अस्पताललाई प्राथमिकतामा राखेर आँखा अस्पताल स्थापना गर्न आवश्यक तयारी भइरहेको बताइन्। अस्पतालको अतिक्रमित जग्गा सरकारको मातहतमा ल्याइसकिएको र निर्माण प्रस्ताव तयार पार्ने काम भइरहेको उनले जानकारी दिइन्।
‘मैले यहाँ आएपछि बल्ल थाहा पाएँ, सरकारको कुनै पनि आँखा अस्पतालै छैन। त्यसैले कोशी अस्पतालबाट आफ्नै आँखा अस्पताल सुरु गर्दैछौँ,’ उनले भनिन्।
उनका अनुसार विराटनगरलाई स्वास्थ्य सेवाको प्रमुख हबका रूपमा विकास गर्ने लक्ष्यसहित छात्रवृत्तिमा अध्ययन गरेका नेत्ररोग विशेषज्ञलगायत चिकित्सकलाई सरकारी अस्पतालमै सेवा दिने व्यवस्था मिलाइनेछ।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई मेडिकल टुरिजमसँग जोड्ने योजना पनि सरकारले अघि बढाएको बताइन्। नरदेवी अस्पताल, कीर्तिपुर अस्पताल र बुढानीलकण्ठमा निर्माणाधीन पञ्चकर्म केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको मेडिकल टुरिजम गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। साथै, बढ्दो मानसिक स्वास्थ्य समस्यालाई लक्षित गर्दै नरदेवी र कीर्तिपुर अस्पतालमा वेलनेस सेवा सञ्चालनमा ल्याइएको र विदेशमा महँगो पर्ने यस्ता सेवा नेपालमै न्यून शुल्कमा उपलब्ध रहेको उनले बताइन्।