काठमाडौं। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनका क्रममा विस्थापित भएका विद्यार्थीको पठनपाठन निरन्तर राख्न सरकारले विद्यालय स्थानान्तरण, यातायात, छात्रवृत्ति र शैक्षिक सामग्रीको व्यवस्था गरेको बताएका छन्।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय भत्काइएपछि प्रभावित विद्यार्थीलाई तत्काल अन्य विद्यालयमा स्थानान्तरण गरी अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ विद्यार्थीलाई तरुण माध्यमिक विद्यालय र बालकल्याण माध्यमिक विद्यालयका १५४ विद्यार्थीलाई नेपाली युवक माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ।
कीर्तिपुरस्थित राधा स्वामी सत्संग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याप्सन काठमाडौं महानगरको समन्वयमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको उनले बताए। भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा रहेका ५९ जना विद्यार्थीको स्थलगत अनुगमन गरी उनीहरूको समस्या तत्काल सम्बोधन गरिएको पनि उनले जानकारी दिए।
विद्यालय टाढा भएको गुनासोपछि होल्डिङ सेन्टरबाट विद्यालय आउजाउका लागि भोलिपल्टैदेखि बस सेवा सञ्चालन गरिएको मन्त्री पोखरेलले बताए। आवश्यक परे नजिकको विद्यालयमा स्थानान्तरण गर्न मन्त्रालयले समन्वय संयन्त्रसमेत तयार राखेको उनको भनाइ थियो।
“विद्यार्थीहरूको गुनासोअनुसार भोलिपल्टदेखि नै विद्यालय आउजाउका लागि बस सेवा सञ्चालन गरियो,” मन्त्री पोखरेलले भने।
बाढी र वर्षाका कारण नष्ट भएका झोला, कापी, किताब, पोसाक तथा अन्य शैक्षिक सामग्री तत्काल उपलब्ध गराइनुका साथै क्रिकेट, फुटबल, भलिबल र ब्याडमिन्टनलगायत खेल सामग्रीसमेत वितरण गरिएको उनले जानकारी दिए। प्रभावित विद्यार्थीको पठनपाठनमा कुनै अवरोध हुन नदिन आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिइने उनले बताए।