चितवन । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा निर्माण गरिएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ।
भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी पुलदेखि पश्चिम गोलाघाटसम्मको करिब ३५ किलोमिटरमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ। सोहीमध्ये एक किलोमिटर १५० मिटर तटबन्ध बाढीबाट प्रभावित भएको सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरले जनाएको छ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार सिद्धिगणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुर क्षेत्रमा १०० मिटर तथा गौरेश्वर, गाँजीपुर र कटेरो क्षेत्रमा ५०–५० मिटर तटबन्धमा बाढीले क्षति पुर्याएको हो। बाढीका कारण तटबन्धमा क्षति पुग्नुका साथै केही क्षेत्रमा डुबानसमेत भएको छ।
पौडेलका अनुसार नारायणी पुलदेखि पश्चिम चितवनतर्फ अधिकांश क्षेत्रमा तटबन्ध निर्माण भइसकेकाले यसपटकको बाढीबाट ठूलो क्षति हुन पाएन। तटबन्ध निर्माण हुन बाँकी रहेका केही स्थानबाट बाढी बस्तीमा प्रवेश गरे पनि उल्लेख्य क्षति भने नभएको उनले बताए।
उनका अनुसार नवलपरासीतर्फ भने तटबन्ध निर्माणको काम पर्याप्त नभएकाले बाढी र कटानबाट तुलनात्मक रूपमा बढी क्षति भएको छ। अमलटारी क्षेत्रमा तीन किलोमिटर तथा नन्दपुर, सीतापुर र सेरी क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा बाढीले असर गरेको छ।
त्यस्तै पर्सौनी, तमासपुर र बगुवानसम्मका विभिन्न स्थानमा गरी १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट र घोसारघाट क्षेत्रमा ७०० मिटर तथा सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रमा बाढीले क्षति पुर्याएको पौडेलले जानकारी दिए।
नवलपरासीतर्फ नारायणी पुलदेखि तल करिब ९८ किलोमिटर क्षेत्र पर्दछ। त्यसमध्ये हालसम्म करिब नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध निर्माण भएको छ। तटबन्ध निर्माण हुन बाँकी रहेका स्थानमा बाढीले नदी किनार कटान गरेको आयोजनाले जनाएको छ।
तटबन्ध निर्माण भएका क्षेत्रमा बाढीको क्षति तुलनात्मक रूपमा कम भए पनि काम हुन बाँकी रहेका नवलपरासीका क्षेत्रमा नदी कटान र डुबानको असर बढी देखिएको पौडेलको भनाइ छ।