काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएको आशंका गरिएको छ।
पाकिस्तान अल्पाइन क्लबका अनुसार बिहीबार मध्यान्हतिर काराकोरम पर्वत शृंखलास्थित ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेको थियो। प्रारम्भिक विवरणअनुसार उक्त टोलीमा रहेका करिब १० जना आरोहीसँग सम्पर्क हुन सकेको छैन।
सम्पर्कविहीन भएको आशंका गरिएका आरोहीहरूमा पाकिस्तान, ओमान, चीन, अमेरिका तथा नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पनि रहेको जनाइएको छ।
सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
घटनापछि पाकिस्तान अल्पाइन क्लबले गम्भीर चिन्ता व्यक्त गर्दै सरकारका उच्च निकाय र सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको जनाएको छ।
क्लबका अनुसार हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएको छ। मौसम तथा सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गरिने र हरसम्भव प्रयास जारी रहेको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।