काठमाडौं । नेपाली कांग्रेसले सुनसरीमा विकसित पछिल्लो घटनाक्रममा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको बताएको छ। कांग्रेसले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनेबाहेक सरकार घटनास्थलमा आवश्यक नेतृत्व र समन्वय गर्न असफल भएको दाबी गरेको छ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाप्रति सरकार उदासीन देखिएको टिप्पणी गरे। उनले सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिमाथि पनि प्रश्न उठाए।
“यस्तो गम्भीर र संवेदनशील विषयमा डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ। सरकार केवल सामाजिक सञ्जालको ‘स्टाटस’मा मात्र सीमित देखियो, तर कार्यथलोमा उसको उपस्थिति शून्य छ,” आङदेम्बेले भने।
उनले राष्ट्रपति, प्रधानमन्त्री र सम्बन्धित निकायबीच आवश्यक समन्वयको अभाव देखिएको दाबी गर्दै सरकारले राष्ट्रिय महत्वका विषयमा सक्रिय पहल गर्नुपर्ने बताए।
आङदेम्बेका अनुसार सर्वदलीय बैठकमा सहभागी दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न संयुक्त पहल गर्ने सहमति गरेका छन्। साथै, तराई–मधेसका सामाजिक समूह, धार्मिक अगुवा र अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै प्रभावित क्षेत्रमा शान्ति र सद्भाव कायम राख्न पहल गर्ने समझदारी पनि भएको उनले जानकारी दिए।