काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका बेला सरकारले प्रभावकारी र समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनले संकटका बेला प्रधानमन्त्रीले सबै पक्षलाई समेट्दै संवाद र सहकार्यको वातावरण बनाउनुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकार सुरक्षा संयन्त्र परिचालन गर्ने र सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने काममा मात्र सीमित हुन नहुने बताए। उनका अनुसार सरकारको दायित्व सबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्दै साझा पहलको नेतृत्व गर्नु हो।
प्रधानमन्त्रीलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै थापाले भने, “यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो ? यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ? गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना र माग पनि छ।”
उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउन, राष्ट्रपतिसँग परामर्श गर्न तथा प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद गरेर साझा पहल अघि बढाउनुपर्ने बताए।
भूकम्प र कोभिड–१९ महामारीजस्ता राष्ट्रिय संकटका बेला सबै राजनीतिक दल एकजुट भएर काम गरेको उदाहरण स्मरण गर्दै थापाले अहिले पनि सरकारलाई अप्ठ्यारो पार्ने नभई सहकार्यमार्फत समस्या समाधान गर्नुपर्ने समय आएको बताए।
सुनसरी घटनामा राज्यले बल प्रयोग गरेको विषयप्रति पनि उनले असन्तुष्टि जनाए। मधेसमा हुने घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता देखिनु दुःखद् भएको भन्दै उनले यसलाई राज्य सञ्चालनको असफलताको निरन्तरताका रूपमा टिप्पणी गरे।
घटनाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै थापाले त्यस विषयमा संसद्मा आवाज उठाइने बताए। साथै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको र त्यसका लागि सबै राजनीतिक दलसँग मिलेर काम गर्न तयार रहेको पनि उनले बताए।