काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोगको निष्पक्षताबारे प्रश्न उठाएका छन्। आयोगका निर्णय निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै उनले आयोगप्रतिको जनविश्वास थप मजबुत बनाउन प्रस्तावित आयुक्तले कस्ता पहल गर्नेछन् भन्ने जिज्ञासा राखे।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विष्टले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित आयोगको निर्णयलाई उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता निर्णयले बेला–बेला आयोगको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताए। उनले निर्वाचन आयोग र न्यायपालिका दुवैले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्ने उल्लेख गर्दै गलत निर्णय भए त्यसलाई सच्याउने र जवाफदेहिता सुनिश्चित गर्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको धारणा राखे।
विष्टले निर्वाचन खर्चको विद्यमान सीमा व्यवहारअनुकूल नरहेको पनि बताए। मतदाताको बसाइँसराइका कारण उम्मेदवारको खर्च बढ्ने गरेको उल्लेख गर्दै उनले मतदाता रहेको स्थानबाटै मतदान गर्न सक्ने व्यवस्था मिलाउने तथा राष्ट्रिय दलको निर्वाचन खर्चको केही हिस्सा राज्यले व्यहोर्ने व्यवस्थाबारे पनि छलफल हुनुपर्ने सुझाव दिए।