सोमबार काठमाडौंको बालुवाटार क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । बालुवाटार जाँदाजाँदै प्रशासनले नागरिक अगुवाको टोलीलाई एक सय मिटर वर नै रोक्यो । प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले व्यापक दमन गर्यो ।
निधारमा कालो माटोको टीका र ‘कु’ लेखिएको कालो पट्टी लगाएका उनीहरुमाथि पानीको फोहरा मात्रै प्रहार गरिएन, लाठीसमेत बर्साइयो । प्रहरीको निर्मम प्रहारबाट दर्जनौं प्रदर्शनकारी घाइते भए । आधा दर्जनको अवस्था गम्भीर रहेको उनीहरुले बताएका छन् । मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूलाई ‘बालुवाटार मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। मार्चमा कवि, लेखक, कलाकार र नागरिक अगुवाको सहभागी थिए।
तेस्रो जनआन्दोलनको उद्घोष
नागरिक आन्दोलनमा भएको प्रहरी दमनको धेरैले विरोध गरेका छन् । यसले शान्तिपूर्ण प्रदर्शनमा उत्रेका उनीहरुलाई थप उत्तेजित बनाएको छ । बृहत् नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए। ‘शान्तिपूर्ण धर्ना दिन गइरहेका थियौं,’ उनले भने, ‘हामीमाथि बर्बर दमन भयो। यसले राम्रो संकेत गरेन। अब तेस्रो जनआन्दोलन सुरू भयो।
पहिलो जनआन्दोलनमा लोकतन्त्र जिन्दावाद भन्ने हामी नै होइन ? दोस्रो जनआन्दोलनमा पनि फेरि त्यही नारा किन लगाउनुपर्यो ? दोस्रो जनआन्दोलनमा त्यही नारा लगाएर पुगेन, त्यही नारा फेरि मधेसका जनताले लगाएर किन जनआन्दोलन गर्नुपर्यो ? किन दलितहरू उफ्रिनु पर्यो, जनजातिहरू फेरि किन आन्दोलित हुनुपर्यो ?’
वाग्ले मात्रै होइन आन्दोनमा सहभागी अधिकांश अगुवा आक्रोसित थिए । कोणसभामा बोल्दै मानव अधिकारकर्मी मोहना अन्सारीले सुरुमै प्रश्न गरिन्, ‘हामीलाई बालुवाटारको गेट हेर्नेसमेत अनुमति किन छैन ?’
अभियन्ता डा. गोविन्द केसीले सडककै भाषाले ०४६ साल, ०६२÷६३ सालको परिवर्तन सम्भव भएकाले तानाशाही प्रवृत्ति नदेखाउन कामचलाउ प्रधानमन्त्रीलाई चेतावनी दिए । उनले भने, ‘जनताले ज्यानको आहुती दिएर ल्याएको संविधानलाई कुल्चिएर केपी ओली श्री ७ महाराज बने । ऊनी सडकको भाषा सुन्दैनन् । तर, उनलाई सुन्ने बनाइन्छ,’।
साहित्यकार खगेन्द्र संग्रौलाले न्याय र सत्यको यात्रा सधैँ कठिन हुने, तर प्राप्ति मिठो हुने बताउँदै भने, ‘नेपाली जनताले श्री ३, श्री ५ दासता अस्वीकार गरे । खड्गप्रसाद कत्रो ठूलो महाराज हो ?’
दमन किन ?
लोकतन्त्रमा शान्तिपूर्ण विरोध र भद्र अवज्ञाको स्वतन्त्रता निःशर्त हुन्छ । आम नागरिकले विना हातहतियार भेला हुन, विरोध गर्न पाउने अधिकार त संविधानले नै सुरक्ष्ति गरेको छ । प्रतिनिधि सभा विघटनपछि राजनीतिक दलहरु मात्रै होइन विभिन्न पेशाकर्मीहरुले यसको विरोध गरिरहेका छन् ।
दलबाहेक नागरिक समाज, वुद्धिजीवी, कानुन व्यवसायी विरोधमै छन् । त्यसो भए शान्तिपूर्ण आन्दोलन गरिरहेको नागरिक समाजका अगुवामाथि किन लाठी बर्साइयो ? शान्तिपूर्ण र कलात्मक ढंगले चलिरहेको नागरिक आन्दोलनमाथि प्रहरी दमन किन ? के सडकमा उभिएर विरोध गर्न पनि निषेध गरिएको हो ? पक्कै होइन ।
प्रहरीको एउटा बहाना छ, ‘निषेधित क्षेत्र’ तोड्न खोजेपछि बल प्रयोग । तर उनीहरु निषेधित क्षेत्रमा पुगेकै थिएनन् । के निषेधित क्षेत्रको आदेश संविधानप्रदत्त मौलिक हकभन्दा माथि हो ? त्यो पनि होइन ।
हिउँदको जाडोमा पनि आन्दोलनको सरगर्मी चढेको छ । दलहरूको आन्दोलनले त्यति गति लिन नसके पनि नागरिक अगुवाहरूको नेतृत्वमा आन्दोलनले गति लिँदै गरेको छ । निरंकुश शासक र पद्धतिले नागरिकसँग जहिल्यै पनि भयभीत महसुस गर्छ ।
अहिले सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । तर स्मरणीय के छ भने यसअघिका कुनै आन्दोलन दमन र बल प्रयोगले रोकिएनन् । आन्दोलनको शक्ति जनता हो । जनताको शक्तिलाई दमनले रोक्न सकिदैन । यो त अहिलेका शासकले पनि बुझे हुन्छ ।
आन्दोलनकारीले तेस्रो जनआन्दोलनको उद्घोष गरेका छन् । के फेरि तेस्रो जनआन्दोलन हुनसक्छ ? प्रश्न जटिल भए पनि उत्तर जटिल छैन । अहिलेको आन्दोलन प्रतिनिधि सभा विघटनविरुद्ध हो । यही आन्दोलनले तेस्रो जनआन्दोलनको रुप लिन गाह्रो होला । तर दोस्रो जनआन्दोलनताका पनि सरुमा केही मान्छे सडकमा निस्केका थिए । सीमित माग थिए । आन्दोलन बढ्दै जाँदा माग पनि बढे र मास पनि बढ्यो । त्यसले नसोचेको परिणाम ल्यायो । त्यसैले अहिले नै नजरअन्दाज भने गर्न सकिदैन ।