काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पदक दिलाउने खेलाडी तथा उनीहरूका प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको खेलकुद शाखाले पेस गरेको प्रस्ताव स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी र सम्बन्धित टोलीका सदस्यलाई सम्मान गर्ने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार वितरण गरिनेछ। बजेट अभावका कारण लामो समयदेखि रोकिएको पुरस्कार अब सम्बन्धित खेलाडी तथा टोलीलाई उपलब्ध गराइने भएको हो।
खेलकुद मन्त्रालयका अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकसहित १०१ जनालाई नगद पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार पाउनेमध्ये माल्दिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का चार पदक विजेता खेलाडी, भारतमा आयोजित पहिलो खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ र पुरुष टोलीका १८ खेलाडी रहेका छन्।
यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का तीन कांस्य पदक विजेता, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का तीन कांस्य पदक विजेता, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका सात कांस्य पदक विजेता तथा मलेसियामा भएको एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडी पनि सम्मानित हुनेछन्।
यसैगरी, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का एक कांस्य पदक विजेता, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का एक स्वर्ण पदक विजेता, बहराइनमा आयोजित आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण तथा कांस्य पदक विजेता नौ खेलाडी र ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४ मा स्वर्ण जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई चाँडै नगद पुरस्कारसहित सम्मान गरिने खेलकुद मन्त्रालयले जनाएको छ।