काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गतको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा अन्नपूर्ण स्पाइकर किङ्सका सहमालिक सुबोध त्रिपाठी र उषा भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्लबका अनुसार दुवै पक्षबीच तीन वर्षका लागि व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ ।
सम्झौतापछि त्रिपाठीले उषाको आबद्धताले टोलीको लोकप्रियता बढाउनुका साथै भलिबलको आधारभूत तहसम्म खेलको विकास र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
“उषासँगको सहकार्यले टोलीको फ्यान बेस विस्तार गर्न मात्र होइन, ग्रासरुट तहबाट भलिबलको विकास र प्रवर्द्धनमा पनि सकारात्मक भूमिका खेल्नेछ,” उनले भने, “गण्डकीकै स्थापित खेलाडीलाई टोलीको अनुहारका रूपमा जोड्न पाउँदा हामी उत्साहित छौं ।”
उषा भण्डारीले पोखराको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्ससँग आबद्ध हुन पाउँदा खुसी लागेको बताइन् । आफ्ना योजना र प्रस्तावलाई क्लब व्यवस्थापनले सकारात्मक रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले यो सहकार्यले नेपाली भलिबलको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिन् ।
उषा नेपाली महिला भलिबल टोलीकी महत्वपूर्ण खेलाडीमध्ये एक हुन् । उनी घरेलु प्रतियोगितामा नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएकी छन् । उनले सन् २०१९ मा नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुद (साग) मार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीकी मुख्य खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी उनले हालसम्म आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।