माघको जाडो । हुस्सु र कुहिरोले तराईमा दिउँसै शीत परिरहेको छ । पात, पतिङ्गर र जमिनले पनि चिसो स्पर्श गरिरहेका छन् । आकासले निरन्तर आँशु खसालिरहेछ । लाग्छ आकाश पनि रोइरहेछ ।
माघको कठ्याङ्ग्रिदो चिसोमा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आँशुका फोहोरा झरे । सपनाको चाङ बोकेर विदेशिएका १८ नेपालीकोको शव बाकसमा आइपुग्यो । त्यसमा न आशा थियो, न निरासा ।
विमानस्थलमा दैनिक ओहोर दोहोर भइरहन्छ । विदेशबाट आउने जानेको भिड हुने नै भयो । आन्तरिक उडान पनि नियमित थिए । कोही सपना बोकेर जाँदै थिए त कोही फर्किदै । जाने र आउनेका आफन्त विमानस्थलमै थिए ।
पैसा कमाउने सपना बुनेर विदेश भासिएका नेपालीहरु यसरी बाकसभित्र फर्किने सिलसिला आजको होइन । सरकारलाई यस्तो तस्वीरले झस्काउनुपर्ने हो । देशको मुहार फेर्छौं भन्ने राजनीतिक दलहरुलाई चिन्तित तुल्याउनुपर्ने हो । कहिलेसम्म बाकसमा सपना ओसारिरहने ?
शनिबारको सन्नाटा भिन्न थियो । आफन्त फर्केको खुशीयालीमा विमानस्थल पुग्नेहरु पनि भावविह्वल भए । जानेहरुको मनपनि दुखित थियो । विदेशमा बितेर काठमाडौं शव ल्याइरहँदा विदेश जाँदै गरेका युवाहरु पनि मलिन अनुहार लगाएर गए । डिसेम्बरमा मृत्यु भएका एक जनाको अस्तु र १८ जना नेपाली कामदारको शव शनिबार ल्याइएको हो ।
जसअन्तर्गत मिलन, सूर्य र विष्णुसहित बाँकेका तीर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लीलाबहादुर खड्का, धनकुटाका भीमबहादुर मगर, काभ्रेका अजय तामाङ, ताप्लेजुङका धनबहादुर विक, नेत्रप्रसाद भट्टराई, रौतहटका वीरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, सुनसरीका मोहम्मद मिस्तार, मोरङका रामकुमार मुदियारको शव काठमाडौं ल्याइएको हो ।
उतै सद्गगद गरिएका निजगढका वीरबहादुर तामाङको भने अस्तु मात्रै आएको छ। ती शवलाई नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० ले बिहान त्रिभुवन विमानस्थलमा ल्याइ पुर्यायो ।
जिउँदै पटक-पटक मर्छन् होला ती आमाबुवा जसले विदेश कमाउन गएका जवान छोराछोरीलाई विमानस्थलबाट बाकसमा लिएर आउनुपर्छ।
मृत्युको कारण खोजी
खुसी ल्याउने सपना बोकेर विदेशीएका नेपाली बाकसमा फर्किए । परदेशमा उनीहरुले देह त्याग्यो । तर मृत्युको कारणबारे भने आफन्तहरु अनविज्ञ थिए । उनीहरुको मनमा एउटा प्रश्न उठिरहेको थियो । मृत्यु कसरी भयो ? उत्तर दिने कोही थिएन । विमानस्थलको कार्गो कार्यालयमा शव बुझ्न आउने मृतकका आफन्त, परिवार र साथीभाइहरू मृत्युको कारणबारे एकअर्कालाई सोधखोज गरिरहेका थिए। जसमध्ये धेरैजना आफ्नो मान्छेको मृत्यु कसरी भयो भन्नेमा जानकार नै थिएनन् भने केहीले प्राकृतिक मृत्यु भएको भन्नेमा शंका गरिरहेका थिए।
आकस्मिकता होइन, नियमितता
नेपाल बाहिर सबैभन्दा धेरै मलेसियामै नेपालीको अप्राकृतिक मृत्यु हुन्छ । वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु मलेसियामा नै हुने गरेको छ । सन् २०२० मा एक महिलासहित २ सय ७५ जना नेपालीको मलेसियामा मृत्यु भएको तथ्यांक छ । मलेसियामा अझै १६ जनाको शव ल्याउन बाँकी छ। ‘नेपाली दूतावासका अनुसार धेरैजसो नेपालीको मृत्यु क्रोनिक खालको रोग, आत्मह त्या र सडक दुर्घटनाका कारण भइरहेको छ। कहिलेकाहीं कुटपिटका कारणले पनि नेपालीको ज्यान जाने गरेको छ।’
गत आर्थिक वर्षमा ७३० जना पुरुष र २३ जना महिला कामदारले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका थिए ।
एकातिर सरकारले विभिन्न देशमा लाखौं रोजगारी सिर्जना गर्ने बताइरहेको छ, अर्कोतिर रोजगारीकै लागि विदेशिएका युवाहरु यसरी मृत्युवरण गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा दैनिक ३ नेपालीहरु बन्द बाकसमा आउँछन् भन्ने तथ्यांक पनि पुरानो भइसक्यो ।
यो आकस्मिकता होइन, नियमितता हो । विदेशिनेको संख्या दिनहुँ बढीरहेकै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलिन मुहारमा परिवार, आफन्त र साथीसर्कलसँग विदा हुनेको संख्या घटेको छैन ।
देशमा रोजगारी नपाएर विदेशीएका लाखौँ नेपाली विदेशी भूमिका कष्टकर श्रम गर्न बाध्य त छँदैछन् तर उतै मृत्यु हुने साथै विदेशी जेलमा फस्ने समस्या झनै डरलाग्दो छ ।
यो कहालीलाग्दो तथ्यांकप्रति नेपाल सरकार कहिल्यै गम्भीर बन्न सकेन । जेलमा यातना सहिरहेका नेपाली र बाकसमा फर्किएका व्यक्तिको परिवारले सरकारको सहानुभूति बाहेक केही पाउन सकिरहेका छैनन् । पैसा कमाउने सपना बुनेर विदेश भासिएका नेपालीहरु यसरी बाकसभित्र फर्किने सिलसिला आजको होइन । सरकारलाई यस्ता तस्विरले झस्काउनुपर्ने हो । देशको मुहार फेर्छौं भन्ने राजनीतिक दलहरुलाई चिन्तित तुल्याउनुपर्ने हो । कहिलेसम्म बाकसमा शव ओसारिरहने ?