काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर ज्यान मार्ने तथा गोली हान्ने धम्की आइरहेको भन्दै प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले जनताको प्रतिनिधिका रूपमा सरकारका कामको गुण र दोषका आधारमा टिप्पणी गर्दा आफूलाई निशाना बनाइएको बताए ।
उनले आफूलाई फेसबुक र फोनमार्फत निरन्तर गोली हान्ने र हत्या गर्ने धम्की आइरहेको उल्लेख गर्दै यस्ता घटनाले जनप्रतिनिधिको स्वतन्त्र रूपमा बोल्ने अधिकारमाथि नै प्रश्न उठाएको बताए ।
‘हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ । सरकारलाई सही बाटो देखाउन खोज्दा मलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको छ,’ उनले भने ।
महरले आफूलाई धम्की दिने व्यक्तिहरूको विवरणसमेत सदनमा सार्वजनिक गरे । उनका अनुसार ‘पराजुली राम’ नामको फेसबुक आईडीबाट गोली हान्ने धम्की आएको छ । त्यस्तै, पूर्णविक्रम क्षेत्री नामका अर्का व्यक्तिबाट पनि भौतिक आक्रमणको धम्की आएको उनले बताए ।
सार्वजनिक रूपमा ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको उल्लेख गर्दै महरले घटनाबारे छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
उनले आफूहरू सरकारको निरपेक्ष विरोधमा नरहेको स्पष्ट पार्दै जनसरोकारका विषयमा आवाज उठाउँदा यस्ता धम्कीको सामना गर्नुपरेको गुनासोसमेत गरे ।