काठमाडौं । कतारका पूर्वअमिर हिज हाइनेस शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल सरकारले एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, शेख हमाद बिन खलिफा अल थानीको १२ जुलाई २०२६ मा निधन भएको हो। उहाँप्रति सम्मान प्रकट गर्दै २०८३ असार ३० गते (१४ जुलाई २०२६) नेपालभरका सबै सरकारी कार्यालय तथा दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नेपाल र कतारबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई स्मरण गर्दै उक्त निर्णयबारे सम्बन्धित सबै निकायलाई जानकारी गराइसकेको पनि उल्लेख गरेको छ।